९ असाेज २०७९, आईतबार
प्रधानन्यायाधीशविरुद्धको महाभियोग छानबिनका लागि समिति गठन

यी हुन् समितिमा रहेका ६ पार्टीका ११ सांसद

  • मध्यमार्ग

प्रधानन्यायाधीश (निल्मबित) चोलेन्द्र शमशेर राणाविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका लागि प्रतिनिधि सभाले एक समिति गठन गरेको छ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकले ११ सदस्यीय समिति बनाएको छ। समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि बसेको छ।

एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्ण भक्त पोखरेल समितिमा अटाएका छन्। यस्तै, कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादीबाट यसोदा सुवेदी र रेखा शर्मा समितिमा छन्।

नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह छन्।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६२ मा अनुसार समिति बनाइएको हो। समितिले काम सुरु गरेको बढीमा ३ महिनाभित्र सिफारिसहितको प्रतिवेदन दिनुपर्नेछ। समितिले महाभियोग अघि बढाउने वा नबढाउने सिफारिससहितको प्रतिवेदन बुझाउनेछ।

प्रधानन्यायाधीश राणामाविरुद्ध फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो। त्यसपछि उनी निलम्बनमा छन्। अहिले दीपककुमार कार्की कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका छन्।

  • २२ फागुन २०७८, आईतबार १९:३९ मा प्रकाशित
  • Nabintech